लक्ष्मी ऐर
डडेल्धुरा,साउन २ गते । डडेल्धुरामा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने तिन जना घाइते भएका छन ।
जिल्ला प्रहरी कार्यालय डडेल्धुराका अनुसार धनगढीबाट दार्चुलातर्फ जाँदै गरेको सुपप्र ०१–००१ ज १८५० नम्बरको बोलेरो जिप शुक्रबार राती करिब तिन बजेतिर अमरगढी नगरपालिका–७ खस्रेखानमा दुर्घटना भएको हो ।
दुर्घटनामा परेर दार्चुलाको अपिहिमाल गाउँपालिका–१ का ४५ वर्षीय सुगन लोथ्याल र २८ वर्षीया हनु लोथ्यालको मृत्यु भएको जनाएको छ । गम्भीर घाइते भएका दुवैलाई उपचारका लागि डडेल्धुरा अस्पताल पु¥याइए पनि चिकित्सकले मृत घोषणा गरेका थिए ।
दुर्घटनामा दार्चुलाको मार्मा गाउँपालिका–३ का ५० वर्षीय अमरसिंह ठगुन्ना, अपिहिमाल गाउँपालिका–१ की ३५ वर्षीया सरस्वती लोथ्याल तथा बैतडीको डिलासैनी गाउँपालिकाका–२ का २० वर्षीय चालक अमृत घडेरी घाइते भएका छन । दुर्घटनाको कारण खुल्न नसकेको र घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ ।
घाइतेमध्ये ठगुन्नाको टाउकोमा चोट लागेको छ भने सरस्वतीको टाउको र कम्मरमा चोट लागेको बताइएको छ । चालक घडेरीको टाउको, अनुहार र छातीमा चोट लागेको छ । उनीहरूको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका सूचना अधिकारी भास्कर चन्दले जानकारी दिनुभएको छ । घाईतेहरु खतरामुक्त रहेको डडेल्धुरा अस्पताल डडेल्धुराका मेसु डा सुधा देबकोटाले जानकारी दिनुभयो ।


