धनगढी — कैलाली जिल्ला अदालतका स्रेस्तेदार भुवन गिरीकी पत्नी आरती रावल गिरीले आफू हिंसामा परेको भन्दै बुधबार जिल्ला प्रहरी कार्यालयमा उजुरी दर्ता गराइन् । उनले अरु कसैबाट नभई अदालतमा स्रेस्तेदारका रुपमा कार्यरत आफ्नै पतिबाट पीडित भएको भन्दै उजुरी दिएकी हुन् ।
अदालतमा स्रेस्तेदार भएकाले गिरीले मुद्दा दर्ता नगर्न प्रहरीलाई दबाब दिएको पनि आरतीले बताइन् । ‘उसले बारम्बार मलाई मुद्दा दर्ता नगर्न धम्क्याइरह्यो । प्रहरी कार्यालयमा आउँदा प्रहरीले पनि मुद्दा सहजै दर्ता गर्नै मानेनन्,’ उनले भनिन्, ‘केहि हुने खाने र बोल्ने हामी जस्तालाई त प्रहरीमा उजुरी दर्ता गराउन यत्तिको समस्या छ अरुलाई झन कत्ति दुःख होला रु’
नेपालगन्ज घर भएकी आरतीले डेढ बर्षअघि मात्रै भुवनसँग दोस्रो पत्नीका रुपमा प्रेम विवाह गरेकी हुन् । भुवनकी जेठी पत्नी र ४ छोराछोरी पनि छन् । तर, उनले झुटो आश्वासन दिएर आफूसँग प्रेम विवाह गरेको आरतीको दाबी छ । आफुसँग विवाह नगरे विष खाएर मर्ने र खुवाएर मारिदिने नभए बदनाम गरिदिने भन्दै भुवनले धम्याएको उनी बताउँछिन् ।
‘जेठी श्रीमतीलाई क्यान्सर छ । मेरो जीवनको सहारा तिमी हौं । तिमीले मसँग विवाह नगरे मर्छु भनेर पत्र लेखेपछि मैले ऊसँग विवाह गर्न मानेकी हुँ,’ आरतीले भनिन्, ‘विवाह गरेर ल्याइसकेपछि उसको बच्चा मेरो पेटमा भयो । त्यसपछि उसले गर्भपतन गराउन ब्ल्याकमेल गर्न थाल्यो ।’
विवाह गरेर ल्याइसकेपछि गिरीले आफ्नै नामबाट आरतीको नागरिकता पनि बनाइदिएका छन् । तर, बच्चा भने जन्माउन दिएनन् । आफुलाई आमा बन्ने अधिकारबाट गिरीले बञ्चित गरेको आरतीको आरोप छ । २ पटक पेटमा भएको बच्चालाई गिरीले कुटपिट गरेर पेटमै मारिदिएको उनको आरोप छ ।
‘पहिलोपटक बच्चा पेटमा भएको ३ महिनामै उसले मलाई पिटेर बच्चा मारिदियो । अर्कोपटक पेटमा भएको ५ महिनाको बच्चाको पनि उसले हत्या गरिदियो,’ उनले भनिन्, ‘बच्चा जन्मेपछि म मरिदिन्छु भन्दै उसले मलाई ब्ल्याकमेल गर्यो । मैले बच्चा फाल्न नमानेपछि मलाई कुटेर बच्चाको हत्या गरेको हो ।’
आरतीले बुधबार भ्रुण हत्या र बैवाहिक बलत्कारको आरोपमा भुवनविरुद्ध मुद्दा दर्ता गराएकी हुन् । भूवनले आफ्नो गोजिमा न्यायाधीशहरू भएकाले मुद्दा फिर्ता लिन आफुलाई पटक–पटक दबाब दिइरहेको उनले सञ्चारकर्मीहरूसँग बताइन् । उनले आफू निरन्तर घरेलु हिंसामा परेको बताइन् । ‘उसले धेरैपटक मलाई बन्द कोठामा यातना दियो । तर मैले श्रीमान रश्रीमतीबीचको सामान्य विवाद भनेर यो कुरा वाहिर ल्याइनँ,’ उनले भनिन्, ‘अहिले यातना बढ्दै गएपछि म मिडियामा आएकी हुँ ।’
उजुरी दिन आएपछि गिरीले तिम्रो परिवारलाई फसाइदिन्छु भन्दै गिरीले धम्की दिइरहेको पनि उनले बताइन् । स्रेस्तेदार गिरीकी पत्नी भन्ने आरतीले पतिबाट हिंसामा परेको भन्दै मुद्दा दर्ता गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरिक्षक दक्षकुमार बस्नेतले बताए । उनले बुधबार मुद्दा दर्ता भइसकेको बताए । मुद्दा दर्ता गर्न प्रहरीले आनाकानी गरेको कुरा भने सत्य नभएको उनको भनाइ छ । अदालतले उनलाई पक्राउ गर्न बिहीबार आदेश दिएको छ ।
यता स्रेस्तेदार गिरीले भने आरतीले आफूमाथि लगाएको आरोपमा सत्यता नभएको बताएका छन् । उनले पतिपत्नी बिच सामान्य विवाद भएको भएपनि उनी माथि ठूलो हिंसा नगरेको बताए । अहिले मेलमिलापको कोसिस भइरहेको पनि उनको भनाइ छ । ‘बिचमा सम्बन्धमा केहि टकराव आएको भएपनि आरतीले भनेजस्तो हिंसा भएको छैन,’ उनले भने, ‘अब सम्बन्ध सुधारतर्फ जानेछ ।’
