अमरगढी रैबार संम्बाददाता
डडेल्धुरा,फागुन,५ गते । डडेल्धुराको आलिताल गाँउपालिका वडा नं. ६ को फल्लेखर्कमा सम्पन्न भनिएको खानेपानीको मुल संरक्षण योजना कागजमा मात्रै सम्पन्न भएको देखिन्छ । तर बास्तबिक योजना सम्पन्न भएको छैन ।
अनुकुलन परियोजना अन्र्तगत आलिताल ६ फल्लेखर्कमा ०७३÷०७४ मा पानीको मुल संरक्षणमा १ लाख ८० हजार बजेट बिनियोजित गरि खर्च भएको देखिन्छ । तर बजेट कागजमा सम्पन्न भएको तर स्थलगत रुपमा योजना सुचारु नै हुन नसकेको स्थानीयबासी बिक्रम कुबरले जानकारी दिनुभयो ।
उहाले दिएको जानकारी अनुसार आलिताल गाँउपालिका अन्र्तगत रही एक गैरसरकारी संस्था अनुकुलन परियोजनाले फल्लेखर्कमा दुईवटा टोलमा मुहान संरक्षणका लागी बजेट बिनियोजित गरेको भएपनि एउटा टोलमा योजना नै नबनी रकम झ्वाम पारेको कुबरको भनाई छ ।
मुल संरक्षण उपभोक्ता समितिका अध्यक्ष धनबहादुर कुबर र सचिब लालबहादुर कुबरले योजना निर्माण नगरिकनै भुक्तानी लिई आर्थिक अनियमितता गरेको स्थानीयको गुनासो छ । एउटा टोलमा निर्माण भएको र अर्काे टोलमा योजना सम्पन्न नगरीकनै बजेट कुम्ल्याउदा समेत परियोजनाले अनुगमन नै नगरि हचुवाका भरमा भुक्तानी दिएको आरोप छ ।
समितिले जिल्ला खानेपानी डिभिजन डडेल्धुराबाट ६०० मीटर पाईप लिएको भएपनि उक्त पाईप समेत आफुले खरिद गरेको भन्दै उक्त पाईप बराबरको रकम समेत लिएको उपभोक्ताहरुको गुनासो छ । यस बिषयमा स्थानीय जनप्रतिनिधी मीनबहादुर कुबरलाई मौखिक जानकारी गराउदा उहाँले अनबिज्ञ रहेको प्रतिकृया दिएका छन ।
