लक्ष्मी ऐर
डडेल्धुरा,चैत १२ गते । डडेल्धुरामा भारतबाट फर्किएका ४७ जना क्वारेन्टाइनमा राखिएको छ । जिल्लाको भित्री मधेसमा पर्ने परशुराम नगरपालिकाले भारतबाट फर्किएका ३९ जनालाई क्वारेन्टाइनमा राखेको हो ।
भारतबाट घर फर्किएका ३९ जनालाई परशुराम नगरपालिका–१२ पर्ने त्रिवेणी बहुमुखी क्याम्पसमा नगरपालिकाले बनाएको क्वारेनटाइनमा राखिएको नगरपालिकाका नगर प्रमुख भीमबहादुर साउदले जानकारी दिनुभएको छ ।
बुधबार बिहान उनीहरूको स्वास्थ्य परीक्षणपछि क्वारेनटाइनमा राखिएको नगरप्रमुख साउदको भनाई थियो । भारतबाट घर फर्किएका परशुराम नगरपालिका र आलिताल गाउँपालिकाका व्यक्तिहरूलाई उक्त क्वारेनटाइनमा राखिएका छन ।
‘हामीले स्थानीय स्रोत साधनको प्रयोग गरी क्याम्पसमा क्वारेनटाइन बनाएका हौं । अहिले उनीहरू क्वारेनटाइनमा राखिएको छ ।’ नगर प्रमुख साउदले भन्नुभयो— उनीहरूले १४ दिनसम्म क्वारेनटाइनमा बस्नुपर्नेछ ।
भाइरसका संक्रमित तथा सम्भावित बिरामीको उपचारमा खटिने चिकित्सक तथा स्वास्थ्यकर्मीका लागि आवश्यक पर्ने पर्सनल प्रोटेक्टिभ इक्युमेन्ट (पीपीई) ४ थान रहेको बताईएको छ । मास्कको अभाव रहेको नगरप्रमुख साउदले जानकारी गराउनुभयो । मास्कको लागि पहल भइरहेको उहाँको भनाई छ । ‘केही दिन अगाडि सात–आठ हजार मास्क वितरण गरेका थियौं । उनले भने, ‘फेरि मास्क आवश्यक छ । बजारमा पाइरहेका छैनौं । प्रयास जारी नै छ । यस्तै अजयमेरु गाउँपालिकाले पनि ३ जनालाई सहश्रलिङ माविमा र २ जना देवलमा क्वारेन्टाइनमा राखिएको गाउँपालिका प्रवक्ता शिवराज भट्टले जानकारी दिएका छन । अरु भारतबाट आएकाहरुलाई तथ्यांक संकलन गरि निगरानीमा राखिएको बताईएको छ ।
भागेश्वर गाउँपालिकाले निमार्ण गरेको क्वारेन्टाइनमा भारतबाट फर्किएका ३ जनालाई राखिएको गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत हर्षबहादुर रोक्काले बताउनुभयो । डडेल्धुरा बजार लगायत गाउबस्तीका बजारहरु कोरोना भाईरसका कारण आज पनि पुर्णतया बन्द अबस्थामै रहेका छन ।
