सीपी लोहिया
बैतडी । बैतडीमा १ नगरप्रमुख र एक वडाअध्यक्ष कुटिएका छन् । जिल्लाको पुर्चौडी नगरपालिकाका प्रमुख रणबहादुर कुँवर र दोगडाकेदार गाउँपालिका ७ का वडाअध्यक्ष भरत महरा कुटिएका हुन् । नगरप्रमुख कुँवरमाथि सोमबार अपरान्ह कार्यकक्षमै कुटपिट भएको पुर्चौडी नगरपालिकाका नगरप्रवक्ता दल बहादुर धामीले जानकारी दिए ।
नगरप्रमुख कुवरलाई हुलाक कर्मचारीका छोरा र स्थानीय युवाहरुले कार्यालयमा तोडफोड गरी मेयरलाई कुटेको उनले बताए । यस्तै दोगडाकेदार ७ का वडाअध्यक्ष महरालाई पनि सोमबार सिल्लेगडा बजारमा युवाहरुको एक समूहले कुटपिट गरेको इलाका प्रहरी कार्यालय पाटनका प्रहरी निरीक्षक धनदेव साँउदले जानकारी दिए । छुट्टाछुट्टै ठाउँमा भएका यी घटनामा मदिर युवाहरुले मदिरा सेवन गरी कुटपिट गरेको बताइएको छ ।
यस्तो छ पुर्चौडीको घटना
सोमबार स्थानीय युवाहरुको एक समूहले पुर्चौडी नगरपालिकाका प्रमुख रणबहादुर कुवरलाई कुटपिट गर्नुका साथै उनको कार्यकक्ष र कार्यालयमा समेत तोडफोड समेत गरेका छन् । उनीहरुले कार्यालयको कम्प्युटर, ल्यापटप, कुर्सी, टेबुल तोडफोड गरेको नगरप्रवक्ता धामीले बताए ।
आइतबार नगरप्रमुख कुँवरले ईलाका हुलाक कार्यालयमा कार्यरत दिलबहादुर धानुकलाई कुटेको भन्दै स्थानीय युवाले कार्यालयमा तोडफोड गरी जनप्रतिनिधि र कर्मचारीमाथि कुटपिट गरेको बताइएको छ । पुर्चौडीका स्थानीय समेत रहेका हुला कर्मचारी धानुकसँग भएको विवादका क्रममा नगरप्रमुख कुँवरले कुटपिट गरेको र उल्टै धानुकलाई पक्राउ गर्दै अभद्र व्यवहारको मुद्धा लगाइएको भन्दै धानुकका दुई छोरा र एक स्थानीयले आक्रोसित हुँदै नगरपालिकाको कार्यालयमा तोडफोड गरी कर्मचारी र जनप्रतिनिधिमाथि हातपात गरेको बताइएको छ । मदिरा सेवन गरेका बेला आइतबार हुलाकका कर्मचारी धानुकलाई नगरप्रमुख कुँवरले हातपात गरेको आरोप तोडफोड गर्ने पक्षको रहेको छ ।
नगरप्रमुख लाई कुटपिटि गरी नगरपालिका कार्यालयमा क्षति गर्ने ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा पुर्चौडीका स्थानीय रमेश धानुक, पुस्कर धानुक र चन्द्र भण्डारी रहेको बैतडीका प्रहरी प्रमुख प्रहरी नायव उपरिक्षक डिल्लीनारायण पाण्डेयले जानकारी दिए । कर्मचारी धानुकमाथि सोमबार जिल्ला प्रशासन कार्यालयमा अभद्र व्यवहारको मुद्धा गरि अनुसन्धानका लागि ५ दिनको म्याद थप गरिसकिएको छ ।
यसैबिच नगरपालिकाले एक विज्ञप्ती प्रकासित गरेर उक्त घटनाको गम्भीर ध्यानकर्षण भएको जनाएको छ । नगरप्रमुख, कर्मचारी र कार्यालयमा क्षती गरिएकोप्रति गम्भीर ध्याकर्षण भएको जनाएको हो । नगरपालिकामा तोडफोड भएपश्चात दैनिक कामकाज ठप्प रहेको समेत जनाएको छ ।
मंगलबार एक विज्ञप्ती प्रकासित गरेर नगरप्रमुखको कार्यकक्ष र अन्य शाखामा पनि क्षती भएको जनाएको छ । नगरप्रमुख रणबहादुर कुँवरद्वारा हस्ताक्षरित विज्ञप्तीमा कार्यालयको सामग्री तोडफोड भएको र कर्मचारीलाई सेवा दिन असुरक्षित महशुस र कार्यालयको जिन्सी, कम्प्युटर र इन्टरनेट सेवा अवरुद्ध रहकोले व्यवस्थापन र शान्तिसुरक्षाको प्रत्याभूती नहुँदासम्म सबै सेवा ठप्प हुने जनाएको छ ।
यसैबिच पुर्चौडीमा थप सुरक्षाकर्मी परिचालन गरिएको छ । दुई दिन लगातार आक्रमणका घटनाभएपछि कुनै अब कुनै अप्रिय घटना हुन सक्ने भन्दै थप सुरक्षाकर्मी परिचालन गरिएको हो । पुर्चौडीमा डोटीको दिपायलमा रहेका प्रहरीको प्रदेश कार्यालय, जिल्ला प्रहरी कार्यालय, सशस्त्र प्रहरी बल गुल्म नम्बर ५१ बैतडी बाट सशस्त्र प्रहरी गरि बाक्लो रुपमा सुरक्षाकर्मी परिचालन गरिएको छ । पुर्चौडीमा सुरक्षाकर्मी परिचालन भएपछि उक्त क्षेत्रको अवस्था अहिले सामान्य रहेको बैतडीका प्रमुख जिल्ला अधिकारी आनन्द पौडेलले बताए ।
यस्तो छ दोगडाकेदारको घटना
बैतडीको दोगडाकेदार गाउँपालिका वडा नं ७ का वडाअध्यक्ष भरत महरा सोमबार कुटिएका छन् । स्थानीय सिल्लेगडा बजारमा युवाहरुको एक समूहले वडाअध्यक्ष महरालाई कुटेका इलाका प्रहरी कार्यालय पाटनका प्रहरी निरीक्षक धनदेव साँउदले जानकारी दिए । लकडाउनको उल्लंघन गर्दै गाडी किन चलाएको भन्दै युवाहरुलाई वडाअध्यक्ष महराले रोक्न खोज्दा बिवाद उत्पन्न भएको हो ।

तस्विर स् दोगडाकेदार ७ वडा अध्यक्ष भरत महरा
बिवादले उग्र रुप लिएपछि कुटाकुटको स्थिती आएको प्रहरीले जनाएको छ । कुटपिटबाट वडाअध्यक्ष घाइते भएका छन् । घाइते वडाअध्यक्ष उपचारका लागि धनगढी गएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । वडाअध्यक्ष महराको नाकमुख, टाउको र पेटमा चोट रहेको छ ।
कुटपिटमा संलग्न रहेको भन्दै प्रहरीले ४ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कृष्ण जोशी, हरि जोशी, नबिनराज जोशी र राजिब धामी रहेका छन् । घटनाको थप अनुसन्धान भइरहेको जनाईएको छ ।
