Amargadhi Post

अनिश्चित समयका लागि डडेल्धुरा जिल्ला सदरमुकाम सिल

लक्ष्मी ऐर
डडेल्धुरा । डडेल्धुरा जिल्लामा कोरोना संक्रमण बढेसंगै जिल्ला सदरमुकाम क्षेत्रलाई अनिश्चित समयका लागि सिल गरिएको छ । शुक्रबार बसेको जिल्ला सुरक्षा समितिको बैठकले कोरोना संक्रमण फैलिन नदिनका लागी बजार क्षेत्र पुर्णरुपमा बन्द गर्ने र सबै यातायातका साधनहरुलाई सदरमुकाम प्रवेश निषेध गर्ने निर्णय भएको प्रहरी नायव उपरिक्षक दधिराम न्यौपानेले बताए । उनले भने, ‘आजै ३ बजेदेखि लागु भई अर्को सुचना जारी नभएसम्म जिल्ला सदरमुकाम सिल गर्ने छौं ।’

जिल्ला सुरक्षा समितिको बैठकको निर्णय लगत्तै प्रहरी प्रशासनले जिल्ला सदरमुकाममा माईकिङ गर्दै सुरक्षा समितिले गरेको निर्णय कार्यान्वनमा सहयोग गर्न आग्रह गर्दै आएको छ । अनिश्चित समयका लागि सिल गरिएको जिल्ला सदरमुकाममा सवै सरकारी कार्यालयहरु भने खुला रहने र डडेल्धुरा जिल्ला सुदुरपश्चिमका सवै पहाडी जिल्लाको ट्रान्जिट प्वाईन्ट भएकोले अन्य डडेल्धुरा जिल्ला बाहेक अन्य जिल्लाबाट आएका सवारी साधनहरुलाई आवत जावत गर्न दिने गरि जिल्ला सदरमुकाम सिल गरिएको समेत प्रहरी प्रमुख न्यौपानेले बताए ।

डडेल्धुरा जिल्लाभित्रको आन्तरिक आवतजावत पूर्णरुपमा रोक्ने र कोरोना संक्रमण फैलिन नदिने गरि जिल्ला सदरमुकामलाई निषेधज्ञा जारी गरिएको जिल्ला प्रशासन कार्यालय डडेल्धुराले जनाएको छ । डडेल्धुरा जिल्लामा केही दिनयता सवारी साधनहरु संचालन भएसंगै व्यापार व्यवसायी पनि संचालन हुन थालेको थियो । स्थानीय निकायहरुले आरडीटी पोजेटिभ भएका व्यक्तिहरुको पिसिआर रिपोर्ट नआउँदै घर पठाएका थिए र घर पठाएका अधिकांस व्यक्तिहरुमा कोरोना परिक्षणको रिपोर्ट पोजेटिभ आएपछि अहिले डडेल्धुरा जिल्ला भरि मानिसहरुमा कोरोनाको सन्त्रास देखिएको छ ।

सरकारले पसल र सरकारी कार्यालय खोल्ने निर्णय गरेसंगै जिल्ला सदरमकाुममा मानिसहरुको चहलपहल बढेसंगै विहिबार एकै दिन डडेल्धुरा जिल्लामा ८३ जना कोरोना संक्रमित थपिएपछि जिल्ला सदरमुकाम नै अनिश्चित समयका लागि सिल गरिएको छ । बिहिबार गन्यापधुरा गाउपालिकामा मात्रै ५८ जना कोरोना संक्रमित देखिएपछि उक्त गाउपालिका बिहिबारदेखि नै असार १२ गतेसम्मका लागि सिल गरिएको छ । डडेल्धुरा जिल्लामा हाल १२८ जना कोरोना संक्रमितहरु रहेका छन् ।

Dadura
सम्बन्धित पाेष्टहरु
जवाफ दिनुहाेस

तपाईकाे ईमेल प्रकाशित गरिने छैन् ।