विरामी रोकिए, खाद्यन्न र इन्धन सकियो, जनजीवन कष्टकर
मुस्ताङ अस्पतालको अक्सिजन प्लान्टको सामग्री बेनी
अमृतप्रसाद पौडेल
बेनी, साउन १५ गते । केही सय पहिलेसम्म कोरोनाका कारण देशभर लकडाउन थियो तर खाद्यन्न तथा औषधि लगायतका अत्यावश्यक वस्तुको अपूर्ति रोकिएको थिएन जस्ले गर्दा हिमालपारीको जिल्ला मुस्ताङको जनजीवन सहज थियो ।
तर अहिले केही समयदेखिको वर्षका कारण मुस्ताङमा नाकावन्दी भएको छ । हवाइ सेवा बन्द छ सडक पाचासौं स्थानमा गएको पहिरोले ठप्प छ । विगत सरदर हेर्ने हो भने मुस्ताङमा अन्य जिल्लाको तुलनामा पानी पनि कमै पर्छ । तैपनि मुस्ताङ अन्य जिल्लाको तुलनामा वर्षाबाट पीडित भयो । मुस्ताङमा अहिले खाद्य संकट देखिन थालेको छ भने उपचार गर्नु पर्ने बिरामीहरु कोही घरमै कोही हस्पीटलमा छट्पटिएर आकास कहिले खुल्ला भनेर हेर्न बाध्य छन् ।
अहिले मुस्ताङ अस्पतालमा रहेका बिरामीहरुलाई रिफर गर्नु पर्ने भए पनि हवाइ तथा सडक दुवै यातायातका माध्यम नहुँदा पठाउन नसकिएको डाक्टर साजन बरालले बताउनुभयो ।
डाक्टर बराल भन्नुहुन्छ –‘उपल्लो मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिकाको चराङका १८ वर्षिय युवा र घरपझोङ गाउँपालिका मार्फाका प्यारालाइसेसका बिरामीलाई पोखरा पठाउन पर्ने छ तर मौषमका कारण हवाइ उडान हुन सकेको छैन, बेनी जोमसोम पनि अबरुद्ध छ त्यसैले पठाउन सकिएको छैन ।’
जिल्ला प्रशासन कार्यालय मुस्ताङका प्रमुख जिल्ला अधिकारी वेदप्रसाद अर्याल भन्नुहुन्छ –‘सुत्केरी हुने एक जना महिला तथा घर भत्किएर गत साउन १२ गते घाइते भएका थासाङ गाउँपालिका नाउरीकोटका एक पुरुषलाई पोखरा पठाउनका लागि हवाइ अनुमति लिएको भए पनि मौषमको कारण फ्लाइट हुन नसक्दा रोकिएको छ ।’
उहाँले थप्नुभयो –‘अस्पतालमा दुई जना र प्रशासनमा अनुमति लिएका दुई जना गरी चार बिरामीलाई नपठाइ नहुने छ तर अनुमति लिएको भए पनि मौषमको कारण चार्टर फ्लाइट आउन सकेको छैन ।’
मुस्ताङ प्रवेशका लागि सबै भन्दा उत्कृष्ट माध्यम भनेकै बेनी–जोमसोम सडक खण्ड र अर्को भनेको पोखरा–जोमसोम हवाइ मार्ग हो । बेनी जोमसोम सडक खण्डमा सानो ठूलो गरी पचासौं स्थानको पहिरो अनि कोभिड–१९ को कारणले भएको लकडाउनले गर्दा हवाइ यातायात पनि बन्द हुँदा दैनिक उपभोग्य तथा खाद्यान्न र औषधि समेत ढुवानी गर्न मुस्कील भएको छ ।
गत असार २६ गते बिहान बेनी नगरपालिका–९ र रघुगंगा गाउँपालिका–३ जोड्ने राहुघाट खोलको बेलिबृज भत्किएपछि सडक अबरुद्ध भएको थियो । सोही दिन नै म्याग्दी मुस्ताङको सिमाना नजिक काभ्रे भिर र घोप्टे भिरमा पनि भिषण पहिरोका कारणले गर्दा रोकीएको कारणले गर्दा यातायातका सबै माध्यम पूरै बन्द भएको छ । मनाङ तथा डोल्पा तर्फ पैदल मार्ग भए पनि निकै जोखिमयुक्त भएको कारणले गर्दा अहिल्यै त्यस तर्फबाट अन्य केही गर्न सम्भव नभएको प्रजिअ अर्यालको भनाई छ ।
२० दिन भन्दा बढी समय देखि लगातार रुपमा सडक बन्द हुँदा सुरक्षा निकायहरुमा खाना पकाउने इन्धनको अभाव भएको प्रजिअ अर्यालको भनाई छ । उहाँले भन्नुभयो –‘अहिले खाना पकाउने ग्यास सेना, प्रहरी र सशस्त्रलाइ पुरै अभाव भएको छ ।’ खाद्य संस्थान सँग हाल २०० क्वीन्टल चामल स्टक रहेको भए पनि दैनिक ज्याला मजदुरी गरेर खाने तथा कर्मचारीहरुका लागि खाद्यान्न अभाव देखिएको प्रजिअ अर्यालले बताउनुभयो ।
मुस्ताङका प्रदेश सभा सांसाद तथा नेकपाका अध्यक्ष चन्द्रमोहन गौचन भन्नुहुन्छ –‘जिल्लाको कुन जनसंख्याको ३५ प्रतिशत जनसंख्यालाई अब छिटै सडक नखुल्ने हो भने खाद्य संकट हुन्छ ।’ उहाँ थप्नुहुन्छ –‘मुस्ताङमा अधिकांशले खाद्यान्न जोहो गरेर राख्ने गरेको भए पनि लामो समयसम्म हवाइ तथा सडक यातायात अबरुद्ध हुँदा स्टक सकिने आउने ठाउँबाट नआउँदा समस्या हुन्छ ।’
मुस्ताङका प्रतिनिधि सभा सांसद प्रेमप्रसाद तुलाचनले भन्नुभयो –‘बज्रदल गणले ग्यासको अभाव भएको कुरा राखेपछि लोमन्थाङ क्षेत्रमा रहेका डिपोहरुबाट ६० वटा ग्यास सिलिण्डर झारेर सेनालाई उपलब्ध गराईएको छ ।’ ‘खाद्यान्न स्टक गर्ने गरीएको भएपनि इन्धन स्टक कम हुने भएकाले इन्धनको समस्या मुस्ताङमा सृजना भएको छ’– तुलाचनले भन्नुभयो । तल्लो मुस्ताङको घाँसा, लेते तथा कुञ्जो क्षेत्रमै खाद्यान्न अभाव भै सकेको तुलाचनको भनाई छ ।
