अमरगढी रैबार सम्बाददाता
डडेल्धुरा, भदौ ६ । सुदूरपश्चिम सरकारले भदौ ७ गते अर्थात आइतवार सार्वजनिक बिदा दिएको छ । २०७७ सालमा दिइने सार्बजनिक बिदाको सूची सार्वजनिक भईसकेको बताउँदै प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका प्रवक्ता तेजप्रकाश जोशीले भदौ ७ गते थारु समुदायको ‘अटबारी पर्व’ को अवसरमा बिदा दिइएको बताए ।
आइतवार प्रदेशभित्र रहेका सम्पूर्ण सरकारी एवं सार्वजनिक निकायमा बिदा हुने उनले बताए। अट्वारीलाई थारु समुदायमा दाजुभाई, दिदीबहिनी र छरछिमेकीहरुबीच माया, ममता सद्भाव र भातृत्व कायम गर्ने पर्वका रुपमा मनाइन्छ । २०७७ सालमा दिईने बिदा सम्बन्धि सूचना प्रदेश राजपत्रमा प्रकाशन भईसकेको छ ।
२०७७ जेठ २३ गते बसेको प्रदेश मन्त्रीपरिषद्को बैठकले गरेको निर्णय अनुसार सार्वजनिक बिदा सम्बन्धि सूचना प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले प्रदेश राजपत्रमा प्रकाशन गरेको थियो । प्रदेश सरकारको निर्णय अनुसार साउन १९ गते रक्षाबन्धन पर्वका अवसरमा प्रदेशमा सार्वजनिक बिदा दिईएको थियो ।
यस्तै पुस १९ गते अछाम र बाजुरा जिल्लामा मनाइने ‘भुवा पर्व’ र चैत २३ गते खखडेहरा पर्वमा सार्वजनिक बिदा दिने निर्णय भएको छ । गौरा र माघे संक्रान्ति तथा माघी पर्वका लागि भने प्रदेश सरकारले छुट्टै बिदा दिएको छैन् ।
