Amargadhi Post

सडक भन्दा पनि रुखकाट्ने नियत देखिन्छ ः संसदीय समिति

मानबहादुर साँउद
डडेल्धुरा,भदौ,९ गते । डडेल्धुराको आलिताल गाँउपालिकामा निर्माण हुन लागेको चक्रपथ सडक काठ काट्ने उदेश्यबाट अभिप्रेरित रहेको सुदुरपश्चिम प्रदेशको संसदीय समितिले दाबी गरेको छ ।
सुदूरपश्चिम प्रदेश सभाको अर्थ, विकास तथा प्राकृतिक स्रोत समितिले आलिताल गाउँपालिकाको गोदामबाजारदेखि डोला जोड्ने सडकको स्थलगत अनुगमन गरि डडेल्धुरा सदरमुकाममा पत्रकार सम्मेलन मार्फत सो कुराको खुलासा गरेका हुन ।

समितिका संयोजक दीर्घराज सोडारीको नेतृत्वमा रहेको टोलीले सडक आवश्यकताभन्दा पनि रुख काट्नकै लागि योजनावद्ध रुपमा सडक बनाइएको जानकारी गराएको हो।

स्थलगत अध्ययनका क्रममा जंगलमा चक्रपथ सडक निर्माण गर्न आवश्यक नदेखिएको समितिको ठहर छ । रुख काटेर तस्करी गर्ने अभिप्राय देखियो सोडारीले भने— जंगलभित्र चक्रपथ सडकको आबश्यकता देखिदैन । वातावरणीय प्रभाव मूल्यांकन नगरी डोला चक्रपथ सडक काठ तस्करी गर्ने नियतबाटै निर्माण गरिएको प्रदेश सभासदस्य सोडारीले बताए।

डोला चक्रपथ सडक निर्माणका लागि गाउँसभाबाट निर्णय नै नभएको समितिले जनाएको छ । अवैध रुपमा वन फडानी गर्ने मनसायका साथ काम भएको पाइएको संसदीय समितिका अर्का सदस्य महेशदत्त जोशीले बताउनुभयो ।

स्थलगत अध्ययनका क्रममा त्यहाँ चक्रपथ सडक नै आवश्यक नभएको ठाउँमा सडक बनाएर काठ तस्करी गर्न खोजिएको प्रष्ट देखिएको समितिकी सदस्य पूर्णा जोशीले बताइन्। रिङरोडभन्दा पनि सालका रुखहरु विनाश गरी काठ तस्करी गर्नु नै सडक बनाउने उद्धेश्य दखिएको जोशीको भनाइ छ।

डिभिजन वन कार्यालयले कानुनी कारवाही प्रक्रियामा अगाडि बढी सकेको हुँदा राम्रोसंग अनुसन्धान गरी कारबाही प्रक्रिया अगाडि बढाउन संसदीय समितिले निर्देशन दिएको वन डिभिजन प्रमुख विष्णुप्रसाद आचार्यले जानकारी दिएका छन ।

‘डिभिजन वन कार्यालयले २ जनालाई पक्राउ गरि हिरासतमा राखेर आवश्यक अनुसन्धान प्रक्रिया अगाडि बढाएको छ।’ उनले भने, ‘यस विषयमा वनमन्त्रीलगायत मन्त्रालयका सचिवसम्म छलफल भइसकेको छ।’

वन डिभिजन कार्यालयले आलिताल गाउँपालिकालाई शुक्रबार पत्राचार गरी सडक निर्माणका लागि वातावरणीय प्रभाव मूल्यांकन अध्ययन भएरनभएको, ठेक्का प्रक्रिया लगायतका विषयमा लिखित जवाफ माग गरेको छ ।

वन कार्यालयको अनुमति बेगर सालका रुखहरु काटी गालिया बनाएर लुकाई राखेको अवस्थामा ११० थान गोलिया शुक्रबार बरामद गरेको डिभिजन वन कार्यालय डडेल्धुराका निमित्त प्रमुख डवलबहादुर बोहराले जानकारी दिएका छन ।

शुक्रबार वन कार्यालयको टोलिले उक्त सडक क्षेत्रमा काठका गोलिया बनाइरहेको अवस्थामा एक जना व्यक्ति र सोही सामुदायिक वनका अध्यक्षलाई नियन्त्रणमा लिई हिरासतमा राखेर थप अनुसन्धान प्रक्रिया अगाडि बढाएको कार्यालयले जनाएको छ ।

गोदाम बजारदेखि डोलागाउँ जोड्ने सडक करिब १ करोड ४५ लाखको बजेटमध्ये ७७ लाखमा उग्रतारा कन्सट्रक्सनको ठेक्का सदर भई २०७७ पुससम्म निर्माण सम्पन्न गरि सम्झौता भएको आलिताल गाउँपालिकाले जनाएको छ ।

Dadura
सम्बन्धित पाेष्टहरु
जवाफ दिनुहाेस

तपाईकाे ईमेल प्रकाशित गरिने छैन् ।