अमरगढी रैबार सम्बाददाता
डडेल्धुरा,भदौ,१५ गते । प्रहरी प्रधान कार्यालयले देशभरमा ७२ जना प्रहरी नायब उपरीक्षक ९डीएसपी० को सरुवा गरेको छ। डडेल्धुराका डीएसपी दधिराम न्यौपानेसहित सुदूरपश्चिममा कार्यरत ६ डीएसपीको पनि सरुवा भएको छ।
जिल्ला प्रहरी कार्यालय डडेल्धुरामा प्रहरी नायब उपरीक्षक न्यौपानेको सरुवा राष्ट्रिय प्रहरी परीक्षण प्रतिष्ठान महाराजगंज काठमाडौंमा भएको छ। उनको स्थानमा बाग्मती प्रदेश सशत्र प्रहरी गण मुख्यालय हेटौंडा, मकवानपुरमा कार्यरत महेन्द्र नेपाल आउनेछन्।
यस्तै जिल्ला प्रहरी कार्यालय बझाङमा कार्यरत प्रहरी नायब उपरीक्षक गणेशबहादुर बमको सरुवा कर्णाली प्रदेश प्रहरी कार्यालय, सुर्खेतमा अभियोजनमा भएको छ। उनको ठाउँमा जिल्ला प्रहरी कार्याल धादिङमा कार्यरत रुपक खड्का आउनेछन्।
सुदूरपश्चिम प्रदेश सशत्र प्रहरी गण मुख्यालय धनगढी, कैलालीमा कार्यरत डिएसपी ज्ञानबहादुर विष्टको सरुवा सुदूरपश्चिम प्रदेश प्रहरी तालिम केन्द्र दिपायल डोटीमा भएको छ। उनी इलाका प्रहरी कार्यालय मालाखेतीमा काजमा थिए। विष्टको ठाउँमा तालिम केन्द्र दिपायलमा कार्यरत सागर बोहरा आउनेछन्।
जिल्ला प्रहरी कार्यालय बाजुराका डिएसपी टंकप्रसाद भट्टराईको सरुवा राष्ट्रिय सुरक्षा परिषद् सचिवालय सिंहदरबार, काठमाडौंमा भएको छ। उनको ठाउँमा प्रहरी प्रधान कार्यालय सुरक्षा सेवा व्यवस्थापन निर्देशनालय नक्सालमा कार्यरत मदनजित महरा आउने जनाइएको छ।
यसैगरी जिल्ला प्रहरी कार्यालय अछामका डिएसपी दिपक भारतीको सरुवा महानगरीय प्रहरी परिसर, ललितपुरमा भएको छ। उनको ठाउँमा राष्ट्रिय प्रहरी परिक्षण प्रतिष्ठान महाराजगंजमा कार्यरत योगेन्द्र सिंह थापा आउनेछन्।
उनीहरूलाई भदौ महिनाको तलब र भक्ता हाल सरुवा भएको दरबन्दीबाट पाउने गरी सरुवा गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।
