मानबहादुर साउद
डडेल्धुरा,भदौ,२६ गते । डडेल्धुराको भित्रीमद्येश क्षेत्र अन्र्तगत रहेको आलिताल गाउपालिकामा भएको अन्धाधुन्ध भएको बन फडानी काण्डमा सलग्न रहेको आरोपमा डिभिजन बन कार्यालय डडेल्धुराले सातजनालाई पक्राउ गरेको छ ।
सातजनालाई हिरासतमा लिएर घटनाका बिषयमा अनुसन्धान भईरहेको र उनीहरु बिरुद्ध डिभिजन बन कार्यालयले बन फडानी कटानीको अभियोग अन्र्तगत मुद्धा चलाउने अन्तिम तयारीमा लागेको श्रोतको दाबी छ । गाँउपालिका नजिकै रहेको वडा नं. ८ को रजनी सामुदायिक बन र राष्ट्रिय बन अन्र्तगत आलिताल डोला चक्रपथ सडकका नाममा ब्यापक बन फडानी गरिएको थियो ।
बुधबार सुदूरपश्चिम प्रदेशसभा सदस्य तथा सामाजिक विकास समिति सभापति कुन्ति जोशीका दाई एवं उनका स्वकिय सचिव समेत रहेका शर्मानन्द जोशी लाई समेत हिरसतमा लिईएको डिभिजन वन कार्यालयले जनाएको छ । जोशीलाई हिरासतमा लिईएपछि अहिले हिरासतमा आउनेहरुको सख्या सात जना रहेको डिभिजन बन कार्यालय डडेल्धुराले जनाएको छ । उनको घर छेउ सडक नजिकै गत भदौ ८ गते सोमबार बेलुकी २० थान सालका गोलिया फेला पारेका थिए । चार थान चिरिएको सालका कडिहरु पनि बरामद गरिएको डिभिजन वन कार्यालय जनाएको थियो ।
भदौ ५ गते सामुदायिक वनका अध्यक्ष र एक जना मजदुर लाई हिरासतमा लिईएको थियो । उनिहरु दुई जनाको बयानका आधारमा अरु लाई पनि हिरासतमा लिईएको डिभिजन वन अधिकृत बिष्णु प्रशाद आचार्यले जानकारी दिनुभयो । निर्माण कम्पनि संग सम्बद्ध तिन जना पनि हिरासतमा छन ।
एक साता अघि थप सात ÷ आठ थान सालका गोलिया पनि बरामत गरेको उनले बताए । गोलिया र रुख बरामत गरिएका स्थानमा गई सहायक वन अधिकृत, अनुसन्धान अधिकृत र रेञ्जरको सुमुहले पुनः नाप जोख गरिरहेको बताईएको छ । पहिले बोक्रा समेत नापिएकाले पुनः नाप्न लागिएको उनको भनाई छ ।
हिरासतमा लिईएका लाई आईतबार सरकारी वकिल समक्ष उपस्थित गराईने उनले बताए । आलिताल गाउपालिका–८ गोदाम–डोला–चिरान चक्रपथ निर्माणका क्रममा कटान गरिएको सालको काठ करिब अढाई हजार क्युफिट लुकाई छिपाई राखेको अवस्थामा फेला परेको छ । पुरानो सडक लाई चक्रपथका रुपमा निर्माण गर्न थालिएको थियो । डिभिजन वन अधिकृत आचार्यले भने—पहिले पाँच मिटर चौडा सडक थियो । अहिले अध्ययन अनुसन्धान गर्दा सडकको डिपिआरमा साढे सात मिटर रहने उल्लेख छ । तर सडक हेर्दा साढे नौ मिटर सम्म पनि चौडा पारिएको छ ।
यस कारण सालका रुख कटान गर्न सडक चौडा पारिएको जस्तो देखिने अनुसन्धान मार्फत खुल्न आएको छ । घटनामा संलग्नहरुको खोजीकार्य जारी रहेको भनिएपनि स्थानीय जनप्रतिनिधी,बन कर्मचारी,सामुदायिक बनका पदाधिकारी र निर्माण कम्पनीका ब्यक्तिहरुमाथी छानबिन हुन स्थानीयहरुको गुनासो छ ।
