अमरगढी रैबार सम्बाददाता
डडेल्धुरा,साउन,३० गते । भीमदत्त नगरपालिकाका वडा कार्यालय आफ्नै भवनबाट सञ्चालन हुन थालेका छन् । स्थानीय तह निर्वाचनपछि नगरपालिकाले वडा कार्यालय भवन बनाउन थालेपछि वडा कार्यालय आफ्नै भवनबाट सञ्चालनमा आएका हुन् । हालसम्म भीमदत्तका ५ वटा वडा कार्यालयहरुले आफ्नै भवनबाट कामाकाज सुरु गरेका छन् । यसअघि ती सबै वडामा भवन भाडामा लिएर कार्यालय सञ्चालन गरिएको थियो ।
भीमदत्त नगरपालिकाका मेयर सुरेन्द्र विष्टले संघीय शासन व्यवस्था अनुसार स्थानीय सरकारका कामकाज वडा स्तरबाट व्यवस्थित बनाउन वडा कार्यालय भवन बनाएको बताए ।
‘नागरिकलाई वडा स्तरबाटै सहज रुपमा सेवा दिन पूर्वाधार निर्माणलाई प्राथमिकताका साथ अघि बढाएका छौ’ उनले भने,‘त्यसका लागि अहिले ६ ओटा वडा कार्यालय बनेका छन्, केही अन्तिम चरणमा र निर्माणाधीन छन् ।’
स्थानीय तह निर्वाचनपछि भाडामा लिएर कार्यालय सञ्चालन गरिएपछि नगरपालिकाले योजना बनाएर भवन निर्माण अघि बढाएको मेयर विष्टले बताए । ‘सुरुवती चरणमा भाडाको घरबाट सेवा सुरु गरेका थियौँ, अहिले नगरपालिकाले सबै वडामा कार्यालय निर्माण गर्ने योजना बनाएको छ’ उनले भने । भीमदत्तका वडा नं। २,६,१२,१५, र १७ मा वडा कार्यालय भवन निर्माण भएर सञ्चालनमा आइसकेका छन् । वडा नं। १७ को वडा कार्यालय भीमदत्तमा सबैभन्दा पहिले सञ्चालनमा आएको हो । अहिले ३,५,७,९, ११,१४ र १९ नम्बर वडा कार्यालय भवनको निर्माण कार्य गत आर्थिक वर्षदेखि सुरु गरिएको छ ।
वडा नं। १, १८ र ४ को वडा कार्यालय भवन निर्माण अन्तिम चरणमा पुगेका छन् । भीमदत्त नगरपालिकाका नगर प्रवक्ता हिमाल बहादुर चन्दले नयाँ भवन निर्माणपछि सेवा प्रवाह सहज भएको बताए । ‘भाडाको घरबाट वडा कार्यालय सञ्चालन गर्दा ठाउँ अभावले सेवा सम्पादन जटिलतासँगै नगरपालिकालाई आर्थिक भार थपिएको थियो’ उनले भने, ‘आफ्नै भवन हुँदा जनतालाई सेवा दिन सुविधा छ ।’
भीमदत्तले वडा कार्यालय भवन बनाउन केही वडामा जग्गा दान पाएको छ । केही वडामा जग्गा खरिद गरी भवन निर्माण अघि बढेको छ । स्थानीय तह निर्वाचन अघि नगरपालिकाका सबै वडा कार्यालय भाडामा लिएर सञ्चालन गरिएका थिए । खर्च धान्न नसक्ने अवस्था आएपछि कार्यालय बन्द गरी नगरपालिकाबाट कामकाज गरिएको थियो । स्थानीय तह निर्वाचनपछि नगरपालिकाले वडा वासिन्दालाई सहज रुपमा सेवा प्रवाह गर्न वडा कार्यालय निर्माण अघि बढाएको छ ।
