लक्ष्मी ऐर
डडेल्धुरा,असोज,१६ गते । डडेल्धुरामा कोरोना विरुद्धको खोप लगाइने केन्द्रहरुमा हेल्प डेस्क स्थापना गरिएकोे छ । कोरोना विरुद्धको खोप अभियानमा सहभागिता जनाउनेहरुलाई सहज रुपमा खोप प्रदान गर्नका लागि जिल्लाभर ५६ वटा खोपकेन्द्र रहेको स्वास्थ्य कार्यालय डडेल्धुराले जनाएको छ ।
ईको पार्टअफ कोर्डेडको आर्थिक सहयोगमा बहुउद्देश्यीय विकास समाज डडेल्धुराले खोप लगाउन जाने मानिसलाई सहज होस भनेर हेल्पडेस्क स्थापना गरी सुरक्षा सामग्रीका साथै खानेपानी वितरण गरेको जनाएको छ ।
जिल्लाका विभिन्न स्थानहरुमा कोभिड–१९ आपतकालिन प्रतिकार्य कार्यक्रममार्फत हेल्पडेस्क राखेर जेष्ठ नागरिक, शारीरिक रुपमा अशक्त र अपागंता भएका व्यक्ति र आर्थिक अवस्थामा कमजोर रहेकालाई आवतजावतमा सहयोग गर्नुका साथै स्वास्थ्य सुरक्षा सामग्रीमा सहजीकरण गरेको संस्थाका कार्यकारी निर्देशक प्रेमबहादुर महरले जानकारी दिनुभयो ।
यसभन्दा अघि डडेल्धुरा अस्पताल, जोगबुडा अस्पताल, डोटीको जिल्ला अस्पताललाई डिस्पोजल ग्लोब्स, स्टेराइल ग्लोव्स, बाईप्याप माक्स, अक्सिजन कन्सिटेटर, भेण्टिलेटरको सर्किट, एण्टिजिन किट्स, पिसिआर जाँच गर्ने किट, पिसिल, हेडक्याप लगायतका अत्याआवश्यक सामग्री उपलब्ध गराएको छ ।
सहयोगी संस्था तथा सहजीकरण गर्ने संस्थाको लोगोसहितका टिसर्ट र एप्रोनसमेत चिकित्सक र अन्य कर्मचारीलाई वितरण गरिएको परियोजना संयोजक शिवराज पाठकले बताउनुभयो ।
