अमरगढी पोष्ट समाचार
धनगढी,कार्तिक,६ गते । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले अहिलेको सरकार कुनै हालतमा नढल्ने र अर्ली इलेक्सन पनि सम्भव नभएको बताएका छन्।
शनिबार सुदूरपश्चिम प्रदेशको बाढीपहिरो प्रभावित क्षेत्रको भ्रमणका लागि आएका नेता रामचन्द्र पौडेलले गेटा विमानस्थलमा पत्रकारहरूसँग संक्षिप्त कुराकानी गर्दै यस्तो बताएका हुन्।
‘हाम्रै पार्टी सभापतिको नेतृत्वमा अदालत गएर अदालतको आदेशमा संसद् पुनःस्थापना भएर सरकार बनेको छ।’ नेता पौडेलले भने, ‘अझ समय नपुग्दै संसद् विघटन गरी चुनावमा जान सम्भव छैन। दुईपटक संसद पुनस्स्थापना भइसकेको अवस्थामा अर्ली इलेक्सनको कुरा गर्न सुहाउँदैन। अर्ली इलेक्सन गर्नु हुँदैन।’
संसदको पूर्णकालका लागि आफूहरु लडेकाले अर्ली इलेक्सनको कुरा सम्भवै नभएको र यो संसदले ५ वर्षे कार्यकाल पूरा गर्ने नेता पौडेलले स्पष्ट पारे।
पछिल्लो समय अर्ली इलेक्सनको चर्चा चलिरहेको छ निरु भन्ने पत्रकारको जिज्ञासामा नेता पौडेलले त्यो हल्ला मात्र भएको दाबी गरे।
यस्तै, अर्को सन्दर्भमा पौडेलले अहिलेको सरकार कुनै हालतमा नढल्ने बताए। केही दिनअघि एमाले अध्यक्ष केपी शर्मा ओलीले आफूले ढाल्दिन चाहे सरकार एक हप्तामै ढालिदिनसक्ने भन्दै दिएको अभिव्यक्तिको कुनै अर्थ नभएको उनले बताए। ओलीले भनेजस्तो सरकार ढलाएर नढल्ने उनको भनाइ थियो।
