लक्ष्मी ऐर
डडेल्धुरा,कार्तिक १४ गते । दार्चुलाबाट महेन्द्रनगर आउँदै गरेको बस डडेल्धुरामा दुर्घटना भएको छ । जिल्लाको आलिताल गाउँपालिका –१ स्थित घण्टेश्वर मन्दिर नजिक सडकबाट ना ८ख ६१३२ नम्बरको बस करिब १५० मिटर तल खसेर दुर्घटना भएको ट्राफिक पहरी कार्यालय स्याउलेले जनाएको छ । ट्राफिक प्रहरी कार्यालय स्याउलेका प्रहरी नायब निरिक्षक जितबहादुर देउवाका अनुसार ३२ जना सवार रहेको बसमा १० जना घाइते भएका छन ।
घाइते हुनेमा बैतडीको डिलाशैनी गाउँपालिका –६ का ४५ वर्षीया बिर्मा ओड, ५० वर्षीय रम्चि ओड, दोगडाकेदार गाउँपालिका –८ का ३२ वर्षीय मानसिंह कार्की, दोगडाकेदार –६ का ३० वर्षीय देवदत्त जोशी, पुर्चौँडी नगरपालिका –१० का ३० वर्षीय चन्द्र बहादुर विष्ट, दोगडाकेदारकै ३५ वर्षीय प्रकाश विष्ट र केशव दत्त जोशी रहेका प्रहरीले जनाएको छ ।
दार्चुलाबाट महेन्द्रनगरका लागि छुटेको ना ८ ख ६१३२ नम्बरको बसले शनिबार राति १२ बजेर ३६ मिनेटमा डडेल्धुराको स्याउलेमा इन्ट्री गरेको थियो । त्यसको झण्डै एक घण्टापछि आलिताल गाउँपालिका वडा नम्बर १ स्थित घण्टेश्वर मन्दिर नजिक उक्त बस दुर्घटनामा परेको थियो । ३२ जना सवार उक्त बस सडकबाट झण्डै १५० मिटर तल खसेपछि १० घाइते भएका हुन । डडेल्धुराका प्रहरी नायक निरीक्षक देउवाले १५० मिटर तल खसेको महाकाली यातायातको बस रुखमा अड्किएको अबस्थामा उद्धार गरिएको बताएका छन ।
‘दुर्घटनको कारण खुल्न सकेको छैन,’ उनले भने, ‘चालकलाई नियन्त्रणमा लिएर सदरमुकाम ल्याउँदैछौ । उनका अनुसार बस चालक र एक जना मिनी ट्रकका चालकबीच साइडको विषयमा विवाद भएको थियो । त्यसको केही समयपछि दुर्घटना भएको प्रहरी नायब निरीक्षक देउवाले बताउनुभयो ।
बस दुर्घटनामा परी घाइते भएकाहरुको अत्तरियास्थित पद्धमा अस्पतालमा उपचार भइरहेको छ ।
दुर्घटनामा गम्भीर घाइते भएकी बैतडीको डिलाशैनी गाउँपालिकाकी रम्पा ओडको भने धनगढीको माया मेट्रो अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । उनलाई पद्धमा अस्पतालबाट रिफर गरिएको र अवस्था गम्भीर रहेको बताईएको छ ।
