Amargadhi Post

सडकले कुलो भत्काउँदा २०० रोपनी खेत ८ वर्षदेखि बाँझै

अमरगढी पोष्ट समाचार

बैतडी,२५ फागुन । बैतडीको पाटन नगरपालिका(५ स्थित अडतोला र कद्द्वार गाउँ खेतीपातिका लागि निकै उपयुक्त गाँउ हुन् । स्याडी खोलाबाट कुलोमार्फत पानी ल्याइएकोमा पाटन–पञ्चेश्वर सडकले कुलो भक्ताएपछि सिँचाइको समस्या भएको छ । अडतोला र कद्द्वार गाउँका ५० बढी परिवारले कोदालोले खनेर खेतमा पुर्‍याएको सिँचाई कुलो २०७० सालमा भत्काइएको हो ।

स्थानीय धर्मानन्द पाण्डेयले भन्नुभयो, ‘२०३८सालमा गाउँलेहरु मिलेर बनाएको कुलोबाट सिँचाई गर्दै आएका थियौँ । पाटन–पञ्चेश्वर सडक खन्ने बेला भत्किएको कुलोलाई एक दुई पटक आफैँले मर्मत गरेर बनायौँ, तर २०७० सालदेखि सडक कालोपत्रेको काम सुरु भएयता भने सडक डबल कटिङ गरिएकाले कुलोको नाम निसाना नै मेटिदियो ।’

कुलो भत्केपछी २०० बढी रोपनी खेतीयोग्य जमिन बाँझो खेतमा परिणत भएको स्थानीय खेमराज पाण्डेयले बताउनुभयो । उहाँले भन्नुभयो, ‘हामीसंग जमिन पर्याप्त छ । तर, पानी नभएकाले बाँझै छाडेका छौँ । कतै कतै गहुँ, मकै र तरकारी लगाए पनि पानीको अभावले बालीनाली सुक्छ । सिँचाइ सुविधा भएको भए तरकारी खेती गरेर जीविकोपार्जन गर्न हुन्थ्यो ।’

कुलो निर्माण गरिदिन सडकको ठेकेदार कम्पनी र सम्बन्धित् कार्यालयहरूलाई पटक–पटक घच्घच्याएको स्थानीयवासी बताउँछन् । सरोकारवाला निकायलाई ध्यानाकर्षण गराएपछि केही मिटर पाइप दिइएको छ । पाइपका टुक्राहरु दिए पनि जडान नगरिँदा पाइपहरु त्यसै थन्काइएको छ ।

सिँचाई आयोजना निर्माणका लागि प्रदेश सरकार र संघ सरकारलाई सिफारिस गरेको पाटन नगरपालिका(५ का वडाअध्यक्ष फुनिसिंह बोहराले बताउनुभयो । उहाँले भन्नुभयो,‘भत्केको आयोजना निर्माणका लागि सबैसँग पहल गर्‍यौँ । तर, कसैले सुनेका छैनन् । जिल्लास्थित सिँचाइ डिभिजन कार्यालय, पूर्वाधार विकास कार्यालय र सडक डिभिजन कार्यालयसँग पहल गर्‍यौँ । तर, उनीहरू एकअर्को कार्यालयलाई भन्नुस् भन्दै टार्छन् ।’

Dadura
सम्बन्धित पाेष्टहरु
जवाफ दिनुहाेस

तपाईकाे ईमेल प्रकाशित गरिने छैन् ।