अर्जुन शाह
धनगढी,भदौ,१५ गते । धनगढी उपमहानगरपालिका–३, चटकपुरका नरबहादुर बिष्टले आफ्ना स्वर्गीय पिताको स्मृतिमा चटकपुर क्षेत्रको ६ लेन सडक पेटीमा अघिल्लो वर्ष रोपेका गुलमोहरका बिरुवा हलक्कै बढेका छन् । चटकपुरकै सुरेन्द्रबहादुर रावलले स्वर्गीय आमा शंकुदेवी रावलको स्मृतिमा रोपेको बिरुवा पनि हुर्कंदैछ । प्रेमबहादुर बिष्टले हजुरबुवा रामी बिष्टको स्मृतिमा रोपेको बिरुवा पनि गज्जबले हुर्केको छ ।
बिरुवाको संरक्षणका लागि राखिएको ‘ट्रि गार्ड’ मा पाता राखेर बिरुवा रोप्ने र उनीहरुका पितृहरुको नाम विवरण लेखिएको छ । बिष्ट र रावल परिवारझैं धनगढी नगर क्षेत्रका मुख्य सडकका पेटीमा सयौंले आफ्ना पितृको स्मृतिमा त कतिपयले जन्मदिनका अवसरमा बिरुवा रोपेका छन् । उचित स्याहार र संरक्षण पाएपछि ती बिरुवा डेढ वर्षमै हर्लक्कै भएका छन् । बोराडाँडी सडक छेउका कतिपय बिरुवा फुल्न पनि थालिसकेका छन् ।
सामाजिक तथा सांस्कृतिक आस्थाको जगमा उभिएको सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी एवं प्रमुख व्यापारिक केन्द्रमा धनगढी उपमहानगरले सडक क्षेत्रलाई हरियाली बनाउन यो योजना अघि सारेको हो । उपमहानगरले स्थानीयको सांस्कृतिक विश्वास र परम्पराको उपयोग गर्दै ‘योजना उपमहानगरको, साथ नगरवासीको’ नाराका साथ हरियाली अभियान चलाइरहेको छ ।
नगरभित्रका थुप्रै संस्था र सयौं स्थानीय सहर हयिाली बनाउने नगरको योजनामा सहमत भए । पितृको स्मृति, जन्मदिनलागायतका सन्दर्भ पारेर आफुले रोपेका बिरुवाको ट्रि गार्डमा नाम लेखाउन चाहने व्यक्ति र संस्थाबाट प्रति बिरुवा पाँच हजार रुपैयाँका दरले संकलन गर्दा उपमहानगरमा करिब ५० लाख बढी रकम संकलन भयो ।
ट्रि गार्ड उपलब्ध गराउने र दिर्घकालीन संरक्षणको जिम्मेवारी उपमहानगरले लियो । आफूले रोपेका बिरुवालाई ६ महिनासम्म रोप्नेहरुले नै हेरबिचार र स्याहार गरेका थिए । ‘बुवाको स्मृतिमा सडक पेटीमा रोपेको बिरुवा वर्षदिनमै हर्कक्क बढेको देख्दा मन खुस हुन्छ,’ नरबहादुरले भने, ‘सडक पेटीबाट हिँड्ने क्रममा आफूले रोपेको बिरुवा देख्दा पितृको स्मरण हुने र माया लाग्ने गर्छ ।’नगरप्रमुख गोपाल हमाल धनगढीलाई हरियाली बनाउने अभयिानमा स्थानीयको उत्साहजनक सहभागिता पाइएको बताउँछन् । ‘स्थानीयको सहभागिताले हामी निकै हौसियौं,’ उनी भन्छन्, ‘पितृका नाममा बिरुवा रोप्न पाउने कन्सेप्ट ल्याएपछि बृक्षारोपण अभियानमा नगरवासीको साथ– समर्थन पायौं ।’ आफूले रोपेको बिरुवा देखेर लामो समय आफन्तले पितृलाई सम्झने, स्याहार गर्ने परिपाटी बस्ने भएकाले अभियान सफल भएको लागेको हमालले बताए ।
धनगढी उपमहानगरपालिकाले आफ्नो नगर क्षेत्र सुरु हुने स्थान गेटादेखि त्रिनगर भन्सारसम्मको ६ लेन सडक, धनगढी चौराहादेखि भन्सार रोड, चौराहा क्याम्पस रोड, रिङ रोडगायतका मुख्य र शाखा सडकमा रोपिएका बिरुवा हुर्केको देख्दा हरियाली धगनढीको झल्को अहिल्यै मिल्छ । सडकको बीच भागमा फुल प्रजातिका गुलमोहर, जाराकान्डा, राजबृक्ष, टिकोमालगायत बिरुवा रोपिएका छन् । कतिपय फुल त ढकमक्क फुल्न थालिसकेका छन् ।
एयरपोर्टदेखि मुख्य सडकसम्म ४ हजार बढी बिरुवा रोपिएको नगरपालिकाले जनाएको छ । यस वर्ष रोपिएका बिरुवाको टिगार्डमा बिरुवाको नम्बर अभिलेख पनि राख्न थालिएको नगरपालिकाले जनाएको छ । कुन टि गार्डमा कुन बिरुवा छन् भन्ने पनि जाकारी भइराख्छ । बेलीदेखि जुगेडा जाने बाटोसम्म किमु, बयर, मौवा, गरी पाँच प्रजातिका २ सय ३५ वटा फलफूलजन्य बिरुवा रोपिएको उपमहानगरका जिन्सिी शाखा प्रमखु कृष्णप्रसाद जोशीले बताए । ‘बेलीदेखि जुगेडा जाने बाटोसम्म वन क्षेत्र पर्ने भएकाले त्यहाँ रोपिएका फलफुलका बिरुवाहरु बादरलागयत वन्यजन्तु तथा चराचुरुंगीको आहारका लागि हो,’ जोशीले भने । बिरुवाको सिँचाइ, संरक्षण र हेरचाहका लागि नगरले महत्वका साथ काम गरिरहेको छ ।
धनगढीका सडकको पेटी क्षेत्रमा मात्र ९ हजार बढी बिरुवा रोपिएको जिन्सी शाखा प्रमुख जोशी बताउँछन् । ‘रिङ रोडमा दुई हजार, वडा नम्बर १, वडा ८ का मूल सडकमा पनि बिरुवा रोपिसकिएको छ,’ जोशीले भने ‘बिरुवा रोप्ने अभियान निरन्तर जारी छ ।’ हालै धनगढी–स्याउले सडक अन्तर्गत हसपुर सामुदायिक प्रहरीदेखि अगाडि पनि सडकको दुबै किनारामा बिरुवा रोपिएका छन् ।
उपमहानगरले हेरालु खटाए पनि कतिपयले लुकिछिपि बिरुवा भाँच्दिने, ट्रि गार्ड फ्याक्दिने, पात चुडाल्ने गरेको देख्दा चित्त दुख्ने गरेको संरक्षणमा बिरुवाको संरक्षणमा खटिने गरेका नवीन ओली बताउँछन् । ‘एकरदुई वर्षमै हरियाली र ढकमक्क फुलेको धनगढी सडक हेर्ने रहर कसलाई नहोला र, त्यै पनि केही मूर्खहरुले बिरुवा भाँच्ने गल्ती गरिरहेका हुन्छन्,’ उनले भने ।
गत साता हुलाकी राजमार्गअन्तर्गत क्याम्पस चोकदेखि मनोहारा तथा क्याम्पस चोकदेखि कैलाली बहुमुखी क्याम्पससम्म चार लेन सडकको मिडियनमा गत साता १ हजार ७ सय ९५ बिरुवा रोपेको छ । धनगढीका सडक क्षेत्रको वातावरणलाई स्वच्छ बनाउन, सहरी सौन्दर्य बढाउने उद्देश्यले शिरिषका बिरुवा रोपिएको जिन्सी शाखा प्रमुख जोशीले बताए । बिरुवा रोप्नका लागि स्थानीय जनप्रतिनिधि, विद्यार्थी, शिक्षक, स्थानीय बासिन्दाको सहभागिता रहेको थियो ।
यस्तै, धनगढीलाई हरियाली र स्वच्छ सहर बनाउनका लागि ‘हरियाली धनगढी’ अभियान सञ्चालन गर्दै आएको धनगढी उपमहानगरपालिकाले धनगढीका ५१ वटा सामुदायिक विद्यालयमा फलफूलका बिरुवा रोपेको जनाएको छ ।
उपमहानगरपालिकाले सामुदायिक विद्यालयमा फलफूल संरक्षण प्रबर्द्धन कार्यक्रम सञ्चालन गरेर धनगढीका ५१ सामुदायिक विद्यालयमा बृक्षारोपण गरिएको नगर प्रमुख गोपाल हमाल बताउँछन् । उपमहानगरका शिक्षा महाशाखाका प्राविधिक सहायक केशव खत्रीका अनुसार धनगढीका ६८ सामुदायिक विद्यालयमध्ये पर्खाल भएका ५१ विद्यालयमा फलफूल प्रजातिका बिरुवा रोपिएको छ । सामुदायिक विद्यालयमा आँप, अम्बा र लिचीका बिरुवा वितरण गरेको हो ।
‘पर्यावरणको संरक्षण होस्, बालबालिकाले फल खान सकून्, विद्यार्थीहरु रमाउन सकून् भनेर विद्यालयमा फलफूलको बृक्षारोपण गरिएको हो,’ धनगढीस्थित पञ्चोदय माध्यमिक विद्यालयका प्रधानाध्यापक हरिशकुमार ओझाले भने,‘बिरुवा हुर्काउने जिम्मेवारी विद्यालयमा रहेको दायित्व इको क्लबका विद्यार्थीलाई दिइएको छ ।’




